उत्कृष्ट कर्मचारी सम्मान सहित बाह्रदशी गाउँपालिकाको हिउँदे अधिवेशन सम्पन्न
२०८२ पुष १४, प्रितम कुमार धमला ।
बाह्रदशी गाउँपालिकाको हिउँदे अधिवेशन अर्थात् १८औँ गाउँ अधिवेशन तथा उत्कृष्ट कर्मचारी सम्मान कार्यक्रम सम्पन्न भएको छ।
कोशी प्रदेशको गाउँ सभा तथा नगर सभा सञ्चालन कार्यविधि ऐन २०७५ को दफा ३ बमोजिम बाह्रदशी गाउँपालिकाको १८औँ गाउँ सभा सभाका अध्यक्ष बाह्रदशी गाउँपालिका अध्यक्ष देविन्द्र प्रसाद चम्लगाईले सञ्चालन गर्नुभएको थियो।

सभामा गाउँपालिका उपाध्यक्ष शान्तादेवी सिवाकोटीले सभामा उपस्थित सम्पूर्णलाई स्वागत गर्नुभएको थियो भने वडा नम्बर ४ का वडा अध्यक्ष महताव आलमले सभा सफलताको शुभकामना मन्तव्य राख्नुभएको थियो। १८औं गाउँ अधिवेशनमा सुन्य समयको प्रयोग गर्दै समसामयिक विषयमा वडा नम्बर २ का वडा सदस्य युवराज ढकाल, वडा नम्बर ६ का वडा सदस्य गंगाराम धिताल वडा नं ५ का वडा सदस्य जय तिम्सिना, राधिका भट्टराई लगायतले छलफलमा भाग लिनुका साथै सभा समक्ष सुझाव समेत पेश गर्नुभएको थियो।

त्यसैगरी सभामा विभिन्न समितिहरूका हालसम्म भएका प्रगति प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो। जसमा न्यायिक समितिको प्रतिवेदन गंगाराम धिताल, आर्थिक विकास समिति संयोजक मनबहादुर राजबंशी, सामाजिक समिति संयोजक पञ्चानन राजबंशी, अर्थ तथा सार्वजनिक लेखा समिति संयोजक पुण्यप्रसाद ढुंगेल, भौतिक पूर्वाधार समिति सदस्य विवेक कुमार गणेश, सुशासन तथा स्थानीय सेवा समिति संयोजक हेमलाल दाहाल लगायतले हालसम्म भएका प्रगति प्रतिवेदन सभामा पेश गर्नुभएको थियो।त्यसैगरी सभाको छलफलमा उठेका सवालको जवाफ सामाजिक समिति संयोजक पञ्चनन राजबंशीले सभा समक्ष दिनुभएको थियो।

आज सम्पन्न भएको हिउँदै गाउँ अधिवेशन मा मेलमिलापकर्ता सूचीकृत, बाह्रदशी गाउँपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण तथा दरबन्दी तेरिज २०७९ को पुनरावलकन तथा संशोधन साथै चालु आर्थिक वर्ष २०८२-०८३ को वार्षिक बजेट योजना तथा कार्यक्रम संशोधन प्रस्ताव बाह्रदर्शी गाउँपालिका उपाध्यक्ष शान्तादेवी सियाकोटीले सभा समक्ष पेश गर्नुभएको थियो भने सभाको सहजीकरण बाह्रदशी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाले गर्नुभएको थियो।

साथै बाह्रदशी गाउँपालिकाको १८औ हिउँदे गाउँ अधिवेशन मा उत्कृष्ट चार कर्मचारीलाई समेत सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा राजकुमार पाण्डे, सुमन ओली, कौशिला थापा, रामनारायण शर्मा लगायतलाई सम्मानपत्र सहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो। त्यसैगरी यस बाह्रदशी गाउँपालिकामा लामो समय कार्य गरी आफ्नो पदोन्नति पश्चात अन्य स्थानीय तहमा सरुवा भई जाने कर्मचारीलाई समेत कदरपत्र साथै दोसल्ला ओडाएर बिदाई गरिएको थियो। त्यो सँगै बाह्रदशी गाउँपालिकामा करारमा कार्यरत दुई कर्मचारीलाई गाउँपालिकाले कदरपत्र र मायाको चिनोसहित दोसल्ला उडाएर बिदाई गरेको थियो। सम्मान तथा विदाई कार्यक्रमलाई जेन्सी शाखा प्रमुख राजु गिरीले सहजीकरण गर्नुभएको थियो।





