नेपाली कथानक चलचित्र ‘तिलस्मी’ को शुभ मुहूर्त सम्पन्न, निर्माण यात्रा सुरु
१९ माघ २०८२, राजेश आचार्य ।
नेपाली कथानक चलचित्र ‘तिलस्मी’ को शुभ मुहूर्त आज बिहान झापा जिल्लाको हल्दीबारी गाउँपालिका–१ स्थित गोलधापको सिंहबाहिनी मन्दिर परिसरमा धार्मिक विधिवत रूपमा सम्पन्न भएको छ। शुभ मुहूर्तसँगै चलचित्रको औपचारिक निर्माण यात्रा सुरु भएको हो।
फैमिली ड्रामा विधामा निर्माण हुन लागेको ‘तिलस्मी’ समयसामयिक कथावस्तुमा आधारित चलचित्र रहेको निर्माण पक्षले जनाएको छ। समाज, परिवार र सम्बन्धभित्रका संवेदनशील पाटोलाई केन्द्रमा राख्दै कथा अघि बढ्ने यस चलचित्रले दर्शकलाई भावनात्मक रूपमा जोड्ने विश्वास गरिएको छ।

चलचित्रको निर्देशन महिला निर्देशक तारा अधिकारीले गर्दै हुनुहुन्छ। लामो समयदेखि नेपाली म्युजिक भिडियो क्षेत्रमा सक्रिय रहँदै आउनु भएकी अधिकारीले सयभन्दा बढी गीतमा शब्द सिर्जना गरिसक्नुभएको छ। म

‘तिलस्मी’ को छायांकन झापा जिल्लाका विभिन्न रमणीय स्थलहरूमा गरिने निर्माण टिमले जनाएको छ। विशेषगरी हल्दीबारीको गोलधाप क्षेत्रलाई प्रमुख छायांकन स्थलका रूपमा प्रयोग गरिनेछ। साथै झापाका अन्य विभिन्न स्थानहरूमा पनि चलचित्रका दृश्यहरू खिचिने तयारी गरिएको छ।
चलचित्रमा मुख्य कलाकारका रूपमा जाहान्वी बस्नेत, महेश बस्नेत, सुनिसा बजगाईं, आर.के. सिंह तथा रश्मि भट्टको अभिनय रहनेछ। कलाकारहरूको संयोजनले चलचित्रलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।
चलचित्रको छायांकन पक्ष अनुभवी छायाँकार विनोद बलकेले सम्हाल्नेछन् भने कथा तथा संवाद बाबुराम निरौलाले लेख्नुभएको छ। सशक्त कथा र संवादमार्फत दर्शकसँग नजिकिने निर्माण पक्षको विश्वास रहेको छ।
निर्माण टिमका अनुसार चलचित्र ‘तिलस्मी’ आगामी २०८३ सालको जेठ महिनामा देशभरका सिनेमा हलहरूमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ। शुभ मुहूर्त समारोहमा स्थानीय जनप्रतिनिधि, कलाकार, सञ्चारकर्मी तथा चलचित्रकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।




