बाह्रदशी–३ मा बजेट योजनालाई लिएर अध्यक्ष र सदस्यहरूबीच चर्को विवाद
“कहीँ नभएको जात्रा हाडी गाउँमा” भन्ने उक्ति अहिले झापाको बाह्रदशी गाउँपालिकामा ठ्याक्कै मेल खाएको छ। गएको असार १३ गते गाउँसभा बैठकबाट नीति, कार्यक्रम तथा बजेट पारित भए पनि पालिकाले हालसम्म बजेट पुस्तक सार्वजनिक गर्न सकेको छैन। वडास्तरीय बजेट सिलिङका योजना नपुगेका कारण पालिकाले पुस्तक छाप्न र सार्वजनिक गर्न ढिलाइ भएको हो।

त्यसैबीच वडा नं. ३ मा भने योजना छनोटलाई लिएर वडाध्यक्ष र वडा सदस्यहरूबीच तीव्र विवाद उत्पन्न भएको छ। वडा अध्यक्ष र सदस्यहरूले बेग्लाबेग्लै योजना गाउँपालिकामा पेस गरेपछि विवाद झनै चुलिएको हो। विशेषगरी ४० लाख रकमको कालोपत्रे सडक योजना लाई लिएर विवाद उत्पन्न भएको हो।
मिति २०८२ साल साउन १६ गते बसेको पहिलो बैठकमा वडा अध्यक्षले पेश गरेको योजनामा सबै क्षेत्र समेटिएको नभएको भन्दै वडा सदस्यहरूले असहमति जनाएका छन्। सोही कारण सदस्यहरूले असहमतिको हस्ताक्षरसमेत गरेका छन्। वडा अध्यक्षले पेश गरेको निती तथा कार्यक्रममा ४० लाख रकमको कालोपत्रे “कुटुबस्ती हुलाकी रोड शिवालय मन्दिरदेखि उत्तर भनुचोक जाने बाटो” योजना पेश भएको देखिन्छ ।
उक्त दिनकै दोस्रो बैठकमा वडा सदस्यहरूले बहुमतको आधारमा छुट्टै नीति तथा कार्यक्रम तयार गरी गाउँपालिकामा पेश गरेका छन्। सदस्यहरूले पेश गरेको योजनामा सोही ४० लाख रकमको कालोपत्रे “कञ्चन मार्गबाट बाह्रदशी सामुदायिक क्याम्पस जोड्ने सडक कालोपत्रे र सो सडकमा पर्ने पैनीमा कलभट निर्माण” प्रस्ताव गरिएको देखिन्छ ।
यसरी एकै वडाका जनप्रतिनिधिहरूबीच योजना माथि दुईवटा फरक प्रस्ताव गाउँपालिकामा पेस भएपछि स्थिति झन् जटिल बन्दै गएको छ। वडा नं. ३ का जनप्रतिनिधिहरूबीच अहिले योजना छनोटलाई लिएर विवाद चरम उत्कर्षमा पुगेको छ।
यसरी जनताले विकासको अपेक्षा गर्दै चुनेका जनप्रतिनिधिहरू आपसमै असहमति र विवादमा अल्झिएपछि जनताले उहाँहरू बाट कस्तो अपेक्षा राख्ने सकिन्छ ?




