गुरुपूर्णिमा अर्थात व्यास जयन्तीको अवसरमा एमिटी विद्यालयमा विविध कार्यक्रम ।
गुरुपूर्णिमा अर्थात व्यास जयन्तीको अवसर पारेर आज एमिटी विद्यालयमा विविध कार्यक्रम सम्पन्न भएको छ ।

पूर्वीय सभ्यता तथा संस्कृतिमा आजको दिनलाई अत्यन्त महत्त्वका साथ लिने गरिन्छ । पूर्वीय सभ्यतामा काँचो पदार्थ सरह व्यक्तिलाई मानव बनाउनेदेखि दैवी गुणसम्म स्थापित गराई परिपक्व बनाउने ज्ञानको भण्डार वेदको वर्गीकरण , पुराण तथा महाभारत जस्ता धर्मशास्त्रको रचना गरेर संसारलाई ज्ञान दिनु भएको हुनाले महर्षि वेदव्यासलाई जगदगुरुका रूपमा लिइने तथा उहाँ जन्मनु भएको आषाढ पूर्णिमालाई गुरुपूर्णिमाका रूपमा लिइने गरिन्छ । त्यसैले यस दिन विद्यार्थी , शिष्यहरुले आफूलाई शिक्षादीक्षा र ज्ञान दिने गुरुको पूजा गर्ने परम्परा रहेको हो।

कार्यक्रममा विद्यार्थीहरूले आफ्ना गुरुबा तथा गुरुआमाहरुको सम्मान गर्दै उपहारहरु अर्पण गरेका थिए । उनीहरुले गुरुहरुको प्रसन्नताका निम्ति गायन , नृत्य जस्ता मनोरञ्जनात्मक कार्यक्रम समेत गरेका थिए । यस अतिरिक्त विद्यार्थीहरुकै पहलमा गुरुहरुलाई खाजाको व्यवस्था समेत गरिएको थियो । यस पूर्व विद्यालयमा पूर्वीय दर्शन प्रतिष्ठान नेपालद्वारा सञ्चालित व्यास रथयात्राको भव्य स्वागत गर्दै रथयात्रामा संलग्न व्यक्तित्वहरुको सम्मान समेत गरिएको थियो ।





