बाह्रदशीमा सुविधा सम्पन्न दुई तले आधारभूत अस्पताल निर्माण अन्तिम चरणमा, जनप्रतिनिधिद्वारा अनुगमन तीव्र
१८ चैत २०८२, राजेश आचार्य ।
बाह्रदशी गाउँपालिकामा निर्माणाधीन सुविधा सम्पन्न १५ शैयाको दुई तले आधारभूत अस्पतालको काम अन्तिम चरणमा पुगेसँगै जनप्रतिनिधिहरूको अनुगमन तीव्र देखिएको छ। संघीय सरकारको “हरेक स्थानीय तहमा एउटा आधारभूत अस्पताल” निर्माण गर्ने कार्यक्रम अन्तर्गत सुरु गरिएको उक्त परियोजनाको करिब ९० प्रतिशत भौतिक प्रगति सम्पन्न भइसकेको गाउँपालिकाले जनाएको छ।
उपलब्ध विवरण अनुसार, अस्पताल निर्माणका लागि श्री धुलिखेल/आशीषबिन्दु जे.भी. सँग १२ करोड २५ लाख १३ हजार ७ सय ६३ रुपैयाँ ४५ पैसामा २०७८ भदौ २९ मा सम्झौता भई २०८३ बैशाख ३१ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

निर्माणाधीन अस्पताल आधुनिक सुविधासहितको हुनेछ। अस्पतालमा एटेच्ड ट्वाइलेट–बाथरूमसहित डाक्टर तथा नर्सहरू बस्न मिल्ने आवासीय कोठाहरू, लिफ्ट (एलिभेटर) को सुविधा, ठूलो बैठक तथा तालिम कक्षा, अत्याधुनिक प्रयोगशाला तथा बिरामीका कुरुवाहरूका लागि पुस्ताकालयको समेत व्यवस्था गरिनेछ। यसले स्वास्थ्य सेवा मात्र नभई समग्र सेवा प्रवाहलाई व्यवस्थित र सहज बनाउने अपेक्षा गरिएको छ।

हालसम्म वित्तीय प्रगति पनि उल्लेखनीय रूपमा अगाडि बढेको छ भने बाँकी काम छिट्टै सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कम्पनीले तीव्र रूपमा काम गरिरहेको जनाइएको छ। गाउँपालिकाले समयमै अस्पताल सञ्चालनमा ल्याउने तयारी समेत अघि बढाएको छ।

अस्पताल सञ्चालनमा आएपछि बाह्रदशी गाउँपालिका तथा आसपासका क्षेत्रका नागरिकले गुणस्तरीय, सहज र सुलभ स्वास्थ्य सेवा स्थानीय स्तरमै प्राप्त गर्नेछन्। यसले टाढा जानुपर्ने बाध्यता घटाउनुका साथै आपतकालीन अवस्थामा समेत प्रभावकारी सेवा उपलब्ध गराउने विश्वास गरिएको छ।




