अन्तरशाखा फुटसलमा बुधबारे जेसिज विजयी


बिर्तामोड । वीरता जेसिज सप्ताह–२०२६ अन्तर्गत आयोजित अन्तरशाखा फुटसल प्रतियोगिताको उपाधि बुधबारे जेसिजले जितेको छ।

अर्जुनधारा नगरपालिका–६ स्थित गमस्त फुटसलमा सम्पन्न फाइनलमा बुधबारे जेसिजले अर्जुनधारा जेसिजलाई ६–५ गोलले पराजित गर्दै उपाधि हात पारेको हो।
झापाका आठ जेसिज शाखाको सहभागिता रहेको प्रतियोगितामा विजेता बुधबारे जेसिजले नगद १० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता अर्जुनधारा जेसिजले नगद ५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ। विजेता तथा उपविजेता टोलीलाई समापन तथा पुरस्कार वितरण समारोहका प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेव गोमदेन र वीरता जेसिजका अध्यक्ष जेसी लोकचन्द्र श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए।
प्रतियोगिताको उद्घाटन अर्जुनधारा नगरपालिका–६ का वडाध्यक्ष हरिशचन्द्र बास्तोलाले गरेका थिए।

कार्यक्रममा नेपाल जेसिजका पूर्व कार्यकारिणी उपाध्यक्ष भीम कुँवर, पूर्व राष्ट्रिय उपाध्यक्ष सिनेटर विशाल थापा तथा अर्जुनधारा खेलकुद विकास समिति अध्यक्ष सुरेन्द्र धिमाल विशिष्ट अतिथिका रूपमा सहभागी थिए। बुधबारे जेसिजका पूर्वअध्यक्ष सेवन्त पोखरेल तथा अर्जुनधारा जेसिजकी अध्यक्ष बिमला भट्टराई, हल्दिबारी जेसिजका अध्यक्ष नितेश खरेल, बाह्रदशी जेसिजकी अध्यक्ष सदिक्षा खड्का, दमक जेसिजका अध्यक्ष राजेन्द्र बिमली र बुधबारे जेसिजका अध्यक्ष कुशल अधिकारीलगायतको उपस्थिति थियो।


कार्यक्रममा वीरता जेसिजका उपाध्यक्ष जेसी बिस्वजित हल्वाईले आस्था वाचन गरेका थिए। प्रतियोगिताका संयोजक जेसी ई. प्रभास थापा मगरले स्वागत मन्तव्य राखेका थिए भने महासचिव जेसी सुवास तीखत्रीले कार्यक्रम सञ्चालन गरेका थिए।
वीरता जेसिज सप्ताह–२०२६ अन्तर्गत यसअघि ‘मिसन भिजन’ तालिम, दुर्घटना न्यूनीकरण महाअभियान, अन्तरकलेज वक्तृत्वकला प्रतियोगिता, संविधानसभा सदस्यहरूसँग ‘संविधानका कुरा’ अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भइसकेका छन्। त्यस्तै दुर्गा माध्यमिक विद्यालय, गरामनीमा तीनमहिने लोकनृत्य प्रशिक्षण सञ्चालन गरिएको छ भने तारा नमस्ते बाल आश्रममा खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरिएको आयोजकले जनाएको छ।


विभिन्न क्षेत्रलाई समेटेर सञ्चालन गरिएका कार्यक्रममार्फत युवाको क्षमता विकास, सडक सुरक्षा, शिक्षा, संस्कृति, सामाजिक सेवा तथा शाखाबीचको सम्बन्ध विस्तारलाई प्राथमिकता दिइएको वीरता जेसिजले जनाएको छ। फुटसल प्रतियोगिताले पनि जेसिज शाखाहरूबीच बन्धुत्व, सहकार्य र आपसी सम्बन्ध विस्तारसँगै खेलकुदमार्फत स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यलाई अघि बढाएको आयोजकको भनाइ छ।

Please follow and like us:
Pin Share

राजेश आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares