कचनकवलमा एकदिने पशुपालनसम्बन्धी तालिम सम्पन्न, ८८ जना सहभागी
२३ साउन २०८३, अभिषेक धमला ।
कचनकवल । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (साकोस) र न्यू कचनकवल कृषि सहकारी संस्थाको संयुक्त आयोजनामा एकदिने पशुपालनसम्बन्धी तालिम सम्पन्न भएको छ।
न्यू कचनकवल कृषि सहकारी संस्थाका अध्यक्ष टंकप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कचनकवल गाउँपालिका–२ का वडाध्यक्ष लेखनाथ खत्री प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
तालिममा पशुपालनलाई व्यावसायिक तथा व्यवस्थित बनाउने, पशुमा लाग्ने विभिन्न रोगको पहिचान, रोगबाट बच्ने उपाय, पशु स्वास्थ्य तथा पशुपालनसँग सम्बन्धित विविध विषयमा सहभागीलाई जानकारी प्रदान गरिएको थियो। तालिममा पशु रोग विशेषज्ञ तथा सहारा नेपाल साकोसका कृषि संयोजक कमलेश्वर भाट र सहारा नेपाल साकोसका वरिष्ठ बाली रोग विशेषज्ञ राजेन्द्रप्रसाद खरेलले प्रशिक्षण दिनुभएको थियो।
एकदिने तालिममा स्थानीय पशुपालक तथा कृषक गरी ८८ जनाको सहभागिता रहेको थियो। तालिमपछि प्रशिक्षक तथा प्राविधिकको टोलीले सहभागीमध्ये ९ वटा परिवारको घरमै पुगेर पशु स्वास्थ्य परीक्षण तथा रोगको चेकजाँचसमेत गरेको थियो।
कार्यक्रममा न्यू कचनकवल कृषि सहकारी संस्थाका प्रबन्ध निर्देशक उमेश सिटौला, सहारा नेपाल साकोस बनियानी शाखाका शाखा प्रमुख रमेश पौडेल, सहारा नेपाल साकोसका पशुप्राविधिक प्रवीण कोइरालालगायत स्थानीय समाजसेवी, बुद्धिजीवी तथा कृषकहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको सुरुवातमा कृपा पोखरेलको टोलीले स्वागत गीत प्रस्तुत गर्दै सहभागी तथा अतिथिहरूलाई स्वागत गरेको थियो। कार्यक्रममा प्रमुख अतिथि लेखनाथ खत्रीले पशुपालनलाई आयआर्जनको महत्वपूर्ण माध्यमका रूपमा विकास गर्न यस्ता तालिम तथा प्राविधिक सहयोग आवश्यक रहेको बताउनुभएको थियो।

सहारा नेपाल साकोस पथरिया शाखाका शाखा प्रमुख मोतीखर सन्जेलले सञ्चालन गर्नुभएको कार्यक्रममा सहारा नेपाल साकोसको समग्र गतिविधि तथा संस्थागत विवरणसमेत प्रस्तुत गरिएको थियो। कार्यक्रममा सहारा नेपाल साकोस बनियानी शाखाका शाखा प्रमुख रमेश पौडेलले उपस्थित सम्पूर्ण अतिथि, प्रशिक्षक तथा सहभागीलाई स्वागत गर्नुभएको थियो।
तालिममा सहभागी कृषकहरूले पशुपालनका क्रममा देखिने विभिन्न समस्या, पशु रोगको पहिचान तथा उपचारका विषयमा प्रत्यक्ष जानकारी प्राप्त गरेको बताएका छन्। आयोजकले यस्ता प्राविधिक तथा व्यावहारिक तालिमले स्थानीय कृषकलाई व्यावसायिक पशुपालनतर्फ आकर्षित गर्दै उत्पादन र आम्दानी वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।




https://shorturl.fm/roCei