पशुपति माध्यमिक विद्यालयको ६३औँ वार्षिक उत्सव साथै सम्मान तथा पुरस्कार वितरण सम्पन्न
२०८२ पुस २, राजेश आचार्य ।
बाह्रदशी झापा। बाह्रदशी गाउँपालिका–३ मा रहेको पशुपति माध्यमिक विद्यालयले विविध सांस्कृतिक कार्यक्रमसहित आफ्नो ६३औँ वार्षिक उत्सव सधै सम्मान तथा पुरस्कार वितरण समारोह सम्पन्न गरेको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोतीलाल राजवंशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष टंकप्रसाद शाह प्रमुख अतिथिका रूपमा सहभागी रहनुभएको थियो।

कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले विभिन्न जातजातिका भेषभूषासहित सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। वार्षिक उत्सवका अवसरमा कक्षा १ देखि १२ सम्म सहक्रियाकलाप अन्तर्गत प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो भने कक्षा ११ र १२ को प्रथम त्रैमासिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई समेत सम्मान गरिएको थियो।

त्यसैगरी २०८१ सालमा कक्षा ८, १० र १२ मा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल १० जना विद्यार्थीलाई जनही रु. २,५०० नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो। भगिमान–लिलामाया स्मृति प्रतिष्ठानद्वारा गरिब तथा जेहनदार पाँचजना छात्रालाई जनही रु. १,५०० का दरले छात्रवृत्ति प्रदान गरिएको थियो।
कार्यक्रममा उत्कृष्ट अभिभावकका रूपमा सातजना अभिभावकलाई दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको थियो। साथै कक्षा ५ र ८ मा उत्कृष्ट नतिजासहित विद्यार्थी उत्तीर्ण गराउन सफल शिक्षक–शिक्षिका तथा कक्षा १० र १२ मा शतप्रतिशत नतिजा हासिल गराउन सफल विषय शिक्षकहरूलाई समेत दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो।

शिक्षक मेघनाथ भुर्तेलको सञ्चालन रहेको कार्यक्रममा सहायक प्रधानाध्यापक गुणनिधि लुइटेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने प्रधानाध्यापक थिरकुमार दाहालले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष टंकप्रसाद शाह, विशेष अतिथि वडा नं. २ का वडाध्यक्ष भीमबहादुर कार्की, शिक्षक मोहन विक्रम ओलीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।



