पशुपति स्काउट दलको दीक्षान्त समारोह सम्पन्न
२०८२ पुस ३, राजेश आचार्य ।
झापाको बाह्रदशी गाउँपालिका–३ स्थित पशुपति माध्यमिक विद्यालयमा विद्यालयको ६३औँ वार्षिक उत्सवको अवसरमा बुधबार एक विशेष कार्यक्रमको आयोजना गरी पशुपति स्काउट दलको दीक्षान्त समारोह सम्पन्न गरिएको छ। विद्यार्थीहरूमा अनुशासन, नेतृत्व क्षमता र सामाजिक सेवाको भावना विकास गर्ने उद्देश्यले आयोजित उक्त समारोह भव्य रूपमा सम्पन्न भएको हो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोतीलाल राजवंशीको अध्यक्षता तथा बाह्रदशी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष टंक प्रसाद साहको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।
दीक्षान्त समारोहमा विद्यालयका स्काउट शिक्षक सिद्धान्त प्रसाद ढकाल र स्काउट शिक्षिका सुष्मा भुजेलले ३२ जना विद्यार्थीहरूलाई शपथ ग्रहण गराउनुका साथै स्काउट ब्याच वितरण गर्नुभएको थियो। त्यसैगरी प्रमुख अतिथि टंक प्रसाद साह, समारोहका अध्यक्ष मोतीलाल राजवंशी र विद्यालयका प्रधानाध्यापक थिरकुमार दाहालले विद्यार्थीहरूलाई स्कार्फ लगाइदिँदै दीक्षित गर्नुभएको थियो।

शिक्षक मेघनाथ भुर्तेलले सञ्चालन गर्नुभएको उक्त समारोहमा स्वागत मन्तव्य विद्यालयका सहायक प्रधानाध्यापक गुणानिधि लुइटेलले राख्नुभएको थियो।

दीक्षान्त समारोहमा बाह्रदशी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष भीमबहादुर कार्की, नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक नारायण श्रेष्ठ, विद्यालयका शिक्षकहरू, अभिभावकहरू, समाजसेवी तथा बुद्धिजीवी व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।




