बाह्रदशी गाउँपालकाको २०८२÷०८३ का लागि ५५ करोड भन्दा माथिको बजेट सार्वजनिक ।
बाह्रदशी गाउँपालकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि ५५ करोड १८ लाख ३८ हजार ६०० को बजेट सार्वजनिक गरेको छ ।

सोमबार १७औं गाउँसभामा उपाध्यक्ष शान्तादेवी शिवाकोटी खरेलले उक्त आकारको बजेट प्रस्तुत गरेकी हुन् । प्रस्तावित बजेट मध्ये कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ११ करोड २० लाख ६२ हजार ६ सय रुपैयाँ रहेको छ ।त्यसै गरी पालिकाले शीर्षक अनुरुप आर्थिक विकास तर्फ ३ करोड ३ लाख पच्चीस हजार,सामाजिक विकास तर्फ २४ करोड २७ लाख ५१ हजार,पूर्वाधार विकास तर्फ १६ करोड १६ लाख र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र तर्फ ५१ लाख छुट्याइएको छ ।

बाह्रदशी गाउँपालिकालाई कृषिमा आधुनिकीकरणमार्फत किसानमा खुशी, शिक्षामा गुणस्तर कायम, सबै नागरिकमा स्वास्थ्यको सहज पहुँच, पूर्वाधार निर्माणका कामलाई सबल बनाउँदै गाउँपालिकालाई समृद्धिको गाउँपालिका बनाउने लक्ष्य राखिएको गाउँपालिका अध्यक्ष देवेन्द्रप्रसाद चौलागाईंले जानकारी दिए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलाले सभाको सहजीकरण गरेका थिए ।सभामा सभाका सदस्य गंगाराम धिताल,जय तिम्सिना ,हेमलाल दाहाल,मिलन सङ्ग्रौला,डुका कुमारी बि.क.,युवराज ढकाल लाइ सभाका अध्यक्ष चम्लागाईले छलफलमा भाग लिन समय प्रदान गर्नुभएको थियो ।
कोशी प्रदेश गाउँसभा र नगरसभा संचालन कार्यविधि ऐन २०७५ को दफा ३ बमोजिम गाउँसभाको १७ औं अधिवेशनको संचालन गरिएको थियो। उक्त सभा मा विभिन्न विषयगत समितिका संयोजक हरुले बिषयगत बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।
गाउँपालिकाले गाउँपालिका बासीहरूलाई दिँदै आएका सेवा सुविधाहरूलाई निरन्तरता दिएको छ। शिक्षामा दिइँदै आएको कक्षा ११ र १२ का माध्यमिक विद्यालयहरूलाई मासिक शुल्क लाई निःशुल्क गराउने नीतिलाई निरन्तरता दिएको छ। किसानहरूलाई दिँदै आएको कृषि सिँचाइ महसुललाई निःशुल्क , सुत्केरी महिलाहरूलाई दिइँदै आएका सेवा सुविधाहरू समेत गाउँपालिकाले निरन्तरता दिएको छ।
त्यसैगरी गाउँपालिकाले शिक्षा क्षेत्रमा गुणस्तर प्रदान गर्नको लागि शैक्षिक गुणस्तर वृद्धिका लागि अनुभवी र अवकाश प्राप्त शिक्षकहरुलाई प्रतिस्पर्धात्मक प्रक्रिया मार्फत विज्ञको रुपमा नियुक्ति गरी विद्यालय अनुगमन र सुपरिवेक्षणलाई व्यवस्थित र पारदर्शी बना ई अनुगमनको प्रभावकारिता मापन गर्न मासिक प्रतिवेदन प्रणाली समेत लागू गरेको छ। त्यसैगरी प्रत्येक चार महिनामा गाउँपालिका अध्यक्षसँग विद्यार्थी अन्तरक्रिया कार्यक्रम समेत सञ्चालन गरी कार्यक्रममा विद्यार्थीका समस्या र सुझावहरू समेत लिने नीति तथा कार्यक्रम लागू गरेको छ। त्यसैगरी युवाहरूमा सीप विकास र आयआर्जनका लागि विभिन्न व्यवसायिक र प्राविधिक तालिमहरूको व्यवस्था गरी तालिमहरूमा कृषि उद्यमशीलता डिजिटल प्रविधि हस्तकला जस्ता सीपहरु समावेश गरी युवाहरूलाई स्वरोजगार र बजारमुखी बनाउने कार्यक्रम समेत गाउँपालिकाले अगाडि सारेको छ।




