बाह्रदशीमा कर तथा आन्तरिक राजस्वसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
२६ जेठ २०८२, राजेश आचार्य ।
बाह्रदशी उद्योग वाणिज्य संघको आयोजनामा तथा बाह्रदशी गाउँपालिकाको सहयोगमा एकदिवसीय कर तथा आन्तरिक राजस्व सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

बाह्रदशी उद्योग तथा वाणिज्य संघका अध्यक्ष खगेन्द्रबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष शान्ता देवी सिवाकोटी रहनु भएको थियो। कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौला, राजगढ सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष रामप्रसाद दुलाल लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

एक सयभन्दा बढी सहभागी रहेको कार्यक्रममा आन्तरिक राजस्व कार्यालय झापाका अधिकृत ज्ञानेन्द्र राई, नायब सुब्बा लिलाचन्द्र पाण्डे लगायतले कर तथा राजस्वसम्बन्धी विषयमा जानकारीमूलक प्रशिक्षण दिनु भएको थियो। साथै, स्थानीय करका सन्दर्भमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलाले समेत प्रशिक्षण दिनु भएको थियो।

कार्यक्रममा प्रमुख अतिथि शान्ता देवी सिवाकोटीले बाह्रदशी उद्योग वाणिज्य सङ्घले निरन्तर रूपमा यस्ता जानकारीमूलक कार्यक्रम सञ्चालन गर्दै आएकोमा धन्यवाद ज्ञापन गर्दै, व्यवसायीहरूलाई करको दायरामा ल्याउन यस्ता अभिमुखीकरण कार्यक्रम अझ प्रभावकारी रूपमा अघि बढाउनु पर्नेमा जोड दिनुभयो।
सो अवसरमा रामप्रसाद दुलाल लगायतले पनि कार्यक्रमको सफलतामा शुभकामना व्यक्त गर्नुभएको थियो।

कार्यक्रमको स्वागत मन्तव्य वाणिज्य संघकी उपाध्यक्ष रेणुका भुर्तेलले राख्नुभएको थियो भने सञ्चालन संघका सचिव जय नारायण आचार्यले गर्नुभएको थियो। कार्यक्रमको औचित्य र आवश्यकता बारे अध्यक्ष कार्कीले प्रष्ट पार्नु भएको थियो।




