सैनिक कला केन्द्र आजबाट सञ्चालनमा

सैनिक कला केन्द्र आजबाट सञ्चालनमा

२०८२ साउन ३, राजेश आचार्य ।

नृत्य मनोरञ्जनको साधन मात्र नभई समाजमा भएका विकृतिहरूलाई नृत्यको माध्यमद्वारा समाजलाई सुसूचित गराउनुका साथै समाज परिवर्तन गर्न सक्ने एउटा ठूलो माध्यम पनि हो। त्यही अनुरूप झापाको बिर्तामोड नगरपालिका वडा नं. १० सैनिक बजारमा आज सैनिक कला केन्द्रको उद्घाटन भएको छ।

सैनिक कला केन्द्रका अध्यक्ष तथा वरिष्ठ नृत्य निर्देशक एलसी श्रेष्ठको अध्यक्षता तथा बिर्तामोड नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्यमा आज उद्घाटन गरिएको हो।

सैनिक कला केन्द्रका अध्यक्ष एलसी श्रेष्ठ तथा कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर १० का वडा अध्यक्षले संयुक्त रूपमा रिबन काटी सैनिक कला केन्द्रको उद्घाटन गर्नुभएको थियो।

उद्घाटन समारोहमा कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै आफ्नो कला, संस्कृति, भेषभूषा बचाउने उद्देश्यका साथै बालबालिकाहरूमा अत्यधिक मात्रामा मोबाइलको प्रयोग बढ्दै गएका कारण त्यसबाट न्यूनीकरण गर्ने उद्देश्यले साथै यस क्षेत्रका बासिन्दाहरू नृत्य सिक्न बिर्तामोडसम्म जानुपर्ने बाध्यताको अन्त्य गर्न समेत सैनिक बजारमा सैनिक कला केन्द्र सञ्चालनमा ल्याइएको कुरा कार्यक्रमका अध्यक्ष एलसी श्रेष्ठले बताउनुभयो।

यसैगरी कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर १० का अध्यक्ष गुरुङले यस क्षेत्रमा नृत्य कला केन्द्र खोलेकोमा खुसी व्यक्त गर्नुभएको छ। उहाँले आफूले सक्ने र वडाबाट हुनसक्ने सहयोग कला केन्द्रलाई प्रदान गर्ने कुराको समेत प्रतिबद्धता जनाउनुभएको छ। साथै त्यस क्षेत्रका वडावासीहरूलाई सैनिक कला केन्द्रमा आएर नृत्य सिक्नका लागि समेत अनुरोध गर्नुभएको छ।

आजदेखि सञ्चालनमा ल्याइएको सैनिक कला केन्द्र उद्घाटन कार्यक्रममा नृत्य कलाकार सङ्घका झापा जिल्ला अध्यक्ष दिवस गिरी, राष्ट्रिय फुटबल टिमका पूर्व प्रशिक्षक प्रवेश कटुवाल, नृत्य कलाकार सङ्घ झापाका कोषाध्यक्ष रिना तामाङ, वाइल स्टेफर डान्स सेन्टरका सञ्चालक अजय चौधरी, नृत्य निर्देशक सङ्घ झापाका अध्यक्ष अमन गुप्ता लगायत नृत्य प्रशिक्षक, नृत्य कलाकार, समाजसेवी, अभिभावक लगायतको उपस्थितिमा उद्घाटन गरिएको थियो।

“आफ्नो संस्कार संस्कृति हराए पहिचान हराउँछ, त्यसैले आफ्नो संस्कार संस्कृति हामीहरूले बचाउनुपर्छ” भन्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको सैनिक कला केन्द्रमा आज ४० जना भन्दा बढीले निःशुल्क भर्ना लिएका छन् भने सैनिक कला केन्द्रले आगामी एक सातासम्म ५०% छुट प्रदान गरिएको कुरा समेत कार्यक्रममा जानकारी गराइएको थियो।

कार्यक्रममा नृत्य कलाकार सङ्घ झापाका अध्यक्ष दिवस गिरी, नृत्य निर्देशक सङ्घ झापाका अध्यक्ष अमन गुप्ता लगायतले कला केन्द्रको उन्नति र प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो।

नृत्य निर्देशक विक्रम गेलालले सञ्चालन गर्नुभएको कार्यक्रममा विभिन्न जातजाति तथा आधुनिक गीतमा नृत्य समेत प्रस्तुत गरिएको थियो।

सैनिक कला केन्द्रमा नृत्य प्रशिक्षक हेम राजवंशी, विजय लिम्बू, प्रताप सुनुवार, प्रितम सम्वाहाम्फे, सागर राजवंशी, प्रिन्स राजवंशी लगायतले नृत्य प्रशिक्षण गराउने सैनिक कला केन्द्रका अध्यक्ष एलसी श्रेष्ठले बताउनुभयो।

उहाँले नेपाली कल्चर, शास्त्रीय, हिपहप, जुम्बा, कन्टेम्पररी नृत्य सिकाउनुका साथै स्टेज, म्युजिक भिडियो, चलचित्रमा नृत्य निर्देशन गरिने पनि बताउनुभयो।

विभिन्न जातजातिको पोशाक तथा गरगहना लगायत सामग्रीहरू भाडामा उपलब्ध गराउने उहाँको भनाइ छ।

Please follow and like us:
Pin Share

राजेश आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares