११औँ राष्ट्रिय योग दिवस २०८२ विभिन्न कार्यक्रमसहित सम्पन्न ।
बाह्रदशी । स्वास्थ्य समाज, समृद्ध नेपाल विश्व शान्तिका लागि योग भन्ने मूल नाराका साथ ११औँ राष्ट्रिय योग दिवस २०८२ एक विशेष कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ।

आयुर्वेद स्वास्थ्य शाखा सञ्चालन समितिका अध्यक्ष तथा वडा नं. ५ का वडा अध्यक्ष वीरबहादुर सिंह राजबंशीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि बाह्रदशी गाउँपालिका उपाध्यक्ष शान्ता देवी सिवाकोटी रहनुभएको थियो।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै आयुर्वेद स्वास्थ्य शाखा प्रमुख जट्टाशंकर झाले स्वागत मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा योग प्रशिक्षक रुद्र ओलीले योगका विभिन्न क्रियाकलाप प्रदर्शन गर्नुका साथै उपस्थित सम्पूर्णलाई योग अभ्यास गराउनुभएको थियो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा वडा नं. ४ का वडा अध्यक्ष महताव आलम, नेपाल रेडक्रस सोसाइटी कोशी प्रदेशका कोषाध्यक्ष ओम प्रकाश गौतम, ज्ञानज्योति बोर्डिङ स्कुलका सह–प्रधानाध्यापक नारायण ढकाल, समाजसेवी नसीम अख्तर लगायतले योगको महत्वमाथि चर्चा गर्दै कार्यक्रम सफलताको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
प्रमुख अतिथि सिवाकोटीले योगले शारीरिक, मानसिक तथा सामाजिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको थियो।
कार्यक्रमको समापन अध्यक्ष तथा वडा नं. ५ का वडा अध्यक्ष वीरबहादुर सिंह राजबंशीले गर्नुभएको थियो। उहाँले योगलाई दैनिक जीवनशैलीमा अपनाउन आग्रह गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो।




