बाह्रदशीमा न्यायिक क्षमता अभिवृद्धि गर्न तीन दिने पुनर्ताजगी तालिम सम्पन्न
२४ चैत २०८२, राजेश आचार्य ।
बाह्रदशी गाउँपालिकामा न्यायिक समितिको आयोजनामा सञ्चालन गरिएको तीन दिने पुनर्ताजगी तालिम सम्पन्न भएको छ।
गाउँपालिकाको सभा हलमा चैत २२ गतेबाट सुरु भएको उक्त तालिम आज एक विशेष कार्यक्रमका बीच औपचारिक रूपमा समापन गरिएको हो।न्यायिक समिति संयोजक शान्तादेवी शिवाकोटीको अध्यक्षता तथा जिल्ला न्यायाधीश अम्बिका प्रसाद दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न समापन कार्यक्रममा तालिमको उपलब्धि र महत्वबारे चर्चा गरिएको थियो। न्यायिक प्रक्रियासम्बन्धी ज्ञान, सीप तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिममा गाउँपालिकाका सातवटै वडाका मेलमिलापकर्ताहरूको सक्रिय सहभागिता रहेको थियो। तीन दिनसम्म सञ्चालन भएको तालिमले स्थानीय तहमा विवाद समाधान प्रक्रिया थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ।
कार्यक्रममा सहभागी मेलमिलापकर्ताहरूलाई व्यवहारिक ज्ञान र सीप प्रदान गरिएको आयोजकले जनाएको छ। समापन समारोहमा न्यायिक क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्व तथा संस्थाहरूलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा न्यायिक समितिलाई विभिन्न समयमा साथ र सहयोग पुर्याउने गाउँपालिका निवर्तमान उपाध्यक्ष रत्नकुमारी राजवंशी, समाजका विशिष्ट बुद्धिजीवी तथा समाजसेवी, नेपाल रेडक्रस सोसाइटीका चकचकी र डागीबारी उपशाखा, बाह्रदशी जेसिज, प्रहरी चौकी फूलबारी, इलाका प्रहरी कार्यालय राजगढ, सातवटै वडाका वडाध्यक्ष, बाह्रदशी गाउँपालिका महिला मूल समिति, पूर्व मेलमिलापकर्ताहरू, सञ्चारकर्मी तथा कर्मचारीहरू रहेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला न्यायाधीश दाहालले स्थानीय तहमा न्यायिक समितिको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै यस्ता तालिमले न्याय सम्पादन प्रक्रियालाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो। त्यसैगरी गाउँपालिका अध्यक्ष देविन्द्र प्रसाद चम्लागाईं, वडा नं. ५ का वडाध्यक्ष वीरबहादुर सिंह राजबंशी, निवर्तमान उपाध्यक्ष रत्नकुमारी राजवंशी, समाजसेवी भूपेन्द्र कटवाल तथा प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियालगायतले शुभकामना मन्तव्य राख्दै तालिमको महत्व औंल्याउनुभएको थियो।

कार्यक्रमको सञ्चालन संजय घिमिरेले गर्नुभएको थियो भने स्वागत मन्तव्य न्यायिक समितिका सदस्य विजय प्रकाश अधिकारीले राख्नुभएको थियो।
समापन समारोहमा अध्यक्ष तथा न्यायिक समिति संयोजक शिवाकोटीले जेन्जी आन्दोलनपछिको चुनौतीपूर्ण अवस्थामा समेत सीमित स्रोत र साधनका बीच मेलमिलापकर्ताहरूले गरेको उत्कृष्ट कार्यको खुलेर प्रशंसा गर्नुभयो। उहाँले आगामी दिनमा पनि न्यायिक सेवालाई थप प्रभावकारी बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो।

स्थानीय तहमा न्यायिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन यस्ता तालिमहरू उपयोगी हुने अपेक्षा गरिएको छ।




