मुस्ताङ भद्रपुर झापा गोल्डकप भोलि देखि संचालन
भद्रपुर । भद्रपुरस्थित मेची रंगशालामा भोलिदेखि अन्तराष्ट्रियस्तरको मुस्ताङ भद्रपुर झापा गोल्डकप प्रतियोगिता सुरु हुँदैछ ।
नेपाल, भारत, भुटान र बंगलादेश गरी १० वटा ‘ए’ डिभिजन क्लबको सहभागिता हुने गरी आयोजित अन्तर्राष्ट्रिय प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकप प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक समितिका अध्यक्ष दीपेश ढकालले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री राजेन्द्र प्रसाद लिङ्देनले गर्ने पत्रकार सम्मेलनमा जानकारी दिएको हो। ‘हाम्रो भन्दा राम्रो’ नारा दिएको प्रथम भद्रपुर गोल्डकप को मैदान सोही बमोजिम मर्मत सम्भार र रंगरोगन गरी सजायको छ ।

उद्घाटन खेल आयोजक भद्रपुर ब्लेजर्स र भारत जयगाँउ फुटबल क्लबबीच हुने समितिका अध्यक्ष ढकालले जानकारी दिए । मेची रंगशालामा वि.सं. २०६१ सालमा भएको त्रिभुवन गोल्डकप यता कुनै पनि ठुला प्रतियोगिता भएको थिएन ।

‘भद्रपुर नगरपालिकाको संरक्षणमा सञ्चालन हुन लागेको गोल्डकपको तयारीमा आयोजक समितिलाई करिब दुई महिना लाग्यो,’ अध्यक्ष ढकालले भने, ‘गाईबस्तु चराउन चौरको रुपमा परिणत भएको रंगशालालाई हेर्न लायक उत्कृष्ट र शानदार खेल मैदान बनाइएको छ ।’
गोल्डकपले भद्रपुरको समग्र विकासमा टेवा पु¥याउने विश्वास लिएको उनको भनाई छ । गोल्डकप सञ्चालनका लागि करिब डेढ करोड खर्च हुने अनुमान गरिएको मा अहिले खर्च बडेको अध्यक्ष ढकालले जानकारी दिनु भयो।

फागुन १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आयोजक भद्रपुर ब्लेजर्स सहित विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपीएफ, मच्छिन्द्र, चर्च ब्वाइज, संकटा क्लब सहभागी हुनेछ । विदेशी टिमहरू जगगाँउ भारत, डुक ल्हासुल भुटान र काउर्न बाजार प्रगति संघ एफसी बंगलादेशको सहभागिता रहने आयोजक समितिका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए । दैनिक २० हजार दर्शन अटाउने गरी स्थायी तथा अस्थायी बाँसे प्याराफिट निर्माण गरिएको छ । नगर क्षेत्रका विद्यार्थी, ज्येष्ठ नागरिक, अशक्तलाई निःशुल्क रहेको पत्रकार सम्मेलन मा अध्यक्ष ढकालले जानकारी दिनु भयो। गोल्डकपको विजेताले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट प्रशिक्षक, उच्च गोलकर्ता र फाइनल खेलको पहिलो गोलकर्तालाई नगद २५ हजार प्रदान गरिनेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २० हजार रुपैयाँ दिइने आयोजक समितिका उपाध्यक्ष आदित्य पराजुलीले जानकारी दिए । गोल्डकपको मुख्य प्रयोजक मुस्ताङ बयर रहेको छ । गोल्डकप सञ्चालनका लागि नगरपालिकाले ३० लाख, सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले १० रुपैयाँ दिएको छ ।
प्रथम पुरस्कार सार्क च्यामबर अफ कमर्सका उपाध्यक्ष चण्डीराज ढकाल, नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक नवराज ढकाल, प्रदेश नम्बर १ उद्योग वाणिज्य महासङ्घका अध्यक्ष टिकाराज ढकाल र हेरिटेज चिया उद्योगका प्रोप्राइटर, हेरिटेज मेट्रेस (कार्पेट) फर्म उद्योग प्रालिका अध्यक्ष हेमराज ढकालले स्व. माता राम रेखा तथा पिता लक्ष्मण ढकालको स्मृतिमा दिने भएका छन् भने दोस्रो पुरस्कार सूर्य प्याई उद्योगले दिने जनाइएको छ ।
पत्रकार सम्मेलनमार्फत आयोजक समितिले भद्रपुर ब्लेजर्सको जर्सी र ट्रयाक सुट सार्वजनिक गर्दै मुख्य प्रशिक्षक हरि खड्कालाई हस्तान्तरण गरिएको छ ।
प्रकाशित मिति : फाल्गुन ६, २०७९ शनिबार
प्रतिक्रिया दिनुहोस्



