बाह्रदशीका शिवु मुर्मु ‘इन्टरनेशनल जुवान अवार्ड’ बाट सम्मानित हुने
२०८२ मङ्सिर २९, राजेश आचार्य ।
झापाको बाह्रदशी गाउँपालिका वडा नं २ निवासी सन्थाली–नेपाली भाषाका सक्रिय साहित्यकार शिवु मुर्मु पछिल्लो एक दशकदेखि सन्थाली मातृभाषा र नेपाली भाषामा कविता, निबन्ध, सांस्कृतिक तथा साहित्यिक लेखनमार्फत निरन्तर योगदान दिँदै आएका छन्। ओल चिकी लिपिबाट नेपाली भाषामा औपचारिक अनुवाद गर्ने पहिलो अनुवादकका रूपमा उनी नेपाली साहित्य क्षेत्रमा विशेष पहिचान बनाइरहेका छन्। वि.सं. २०७९ देखि उनी नेपालकै पहिलो ओल चिकी लिपिमा प्रकाशित चौमासिक साहित्यिक–सांस्कृतिक पत्रिका ‘पँड बुरु’ का संस्थापक तथा सम्पादकका रूपमा कार्यरत छन्। सन्थाली विकिपिडियामा उनका सामग्री अभिवृद्धिले सन्थाली भाषाको डिजिटल उपस्थितिलाई समृद्ध बनाउँदै लगेको छ।

यसैबीच आदिवासी भाषा, संस्कृति र साहित्यको प्रवर्द्धनका लागि महत्वपूर्ण मानिने जुवान ओनोलीयाको वार्षिक सम्मेलन आगामी डिसेम्बर २७ र २८ मा भारतको ओडिशा राज्यस्थित बारिपदामा आयोजना हुने भएको छ। स्थानीय समुदायको समन्वय र सहयोगमा सञ्चालन हुने यो सम्मेलनमा झारखण्ड, पश्चिम बंगाल, ओडिशा लगायत पूर्वी भारतका विभिन्न क्षेत्रबाट लेखक, शोधकर्ता, कलाकार तथा युवा साहित्यप्रेमीहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ। सम्मेलनले सन्थाली समुदायबीच सांस्कृतिक आदान–प्रदान, साहित्यिक परिचर्चा र ज्ञान–अनुभव साझा गर्ने अवसर प्रदान गर्नेछ।

जुवान ओनोलीयाका संयोजक शिवलाल मुर्मूका अनुसार सम्मेलनमा साहित्यिक कार्यक्रम, कार्यशाला, प्रशिक्षण सत्र, सांस्कृतिक प्रस्तुति तथा भाषा–साहित्य सम्बन्धी विविध विषयमा अतिथि वक्ताहरूका विशेष सत्रहरू समावेश गरिनेछ।
यस वर्ष सन्थाली भाषा र साहित्यमा उल्लेखनीय योगदान पुर्याउँदै आएका सात उत्कृष्ट व्यक्तित्वलाई विशेष सम्मान प्रदान गरिने घोषणा गरिएको छ। सम्मानले उनीहरूको साहित्यिक पहिचान मात्र होइन, आदिवासी भाषा–संस्कृतिप्रतिको प्रतिबद्धतालाई अझ मजबुत बनाउने आयोजकहरूको विश्वास छ।
सम्मानित व्यक्तित्वहरूको सूचीः
इन्टरनेशनल जुवान अवार्ड : शिवु मुर्मु (नेपाल)
जुवान ओनोलीया अवार्ड : मालती हेम्ब
लाइफटाइम एचिभमेन्ट जुवान अवार्ड : चुंडा सोरेन, सिमडेगा
वुमेन लेखक जुवान अवार्ड : सुचित्रा हांसदा
ट्रान्सजेन्डर जुवान अवार्ड : शिवानी किस्कु, फुलोलिया
यंग मेम्बर जुवान ओनोलीया अवार्ड : आरसल दुदु, जमशेदपुर
हाइ वर्किङ मेम्बर जुवान ओनोलीया अवार्ड : हाजाम बारिक, बारिपदा

सन्थाली भाषा र साहित्यको उन्नति, संरक्षण तथा प्रवर्द्धनमा निरन्तर सक्रिय यी सात व्यक्तित्वलाई बारिपदामा भव्य रूपमा आयोजना हुने समारोहमार्फत सम्मानित गरिने आयोजक संस्थाले जनाएको छ। सम्मेलनले सन्थाली समुदायको सांस्कृतिक पहिचान, भाषिक मौलिकता र साहित्यिक योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउने महत्त्वपूर्ण मञ्चका रूपमा काम गर्ने अपेक्षा गरिएको छ।



