बाह्रदशी गाउँपालिकाको १९ औं गाउँसभा सम्पन्न:- संशोधन बजेट र विधेयकहरू सर्वसम्मत पारित
१६ असार २०८३, राजेश आचार्य ।
झापाको बाह्रदशी गाउँपालिकाको १९ औं गाउँसभा सम्पन्न भएको छ। चकचकीस्थित गाउँपालिकाको आफ्नै सभाहलमा आयोजित कार्यक्रमका बीच गाउँसभा सम्पन्न भएको हो।
कोशी प्रदेश गाउँसभा र नगरसभा सञ्चालन कार्यविधि ऐन २०७५ को दफा ३ बमोजिम यो १९ औँ अधिवेशन आह्वान र सम्पन्न गरिएको छ। गाउँपालिकाका अध्यक्ष देविन्द्र प्रसाद चम्लागाईको अध्यक्षता तथा सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।
सभामा पालिकाको वार्षिक बजेट, नीति तथा कार्यक्रम, विभिन्न प्रस्तावना र समसामयिक विषयहरूमाथि छलफल भएको थियो। छलफलमा गाउँसभा सदस्यहरू युवराज ढकाल, गंगाराम धिताल, हेमलाल दाहाल र डुकाकुमारी बिक्कले आ-आफ्नो महत्त्वपूर्ण धारणा तथा सुझावहरू राख्नुभएको थियो।

गाउँसभाको शून्य समयमा सदस्यहरूद्वारा उठाइएका समसामयिक र जनचासोका विषयहरूको जवाफ सामाजिक विकास समितिमा संयोजक पञ्चानन राजवंशीले दिनुभएको थियो।
त्यसैगरी, वार्षिक बजेट, नीति तथा कार्यक्रम एवं विभिन्न विधेयकहरूमाथि उठेका जिज्ञासा र प्रश्नहरुलाई बजेट तथा कार्यक्रम तर्जुमा समितिकी संयोजक शान्तादेवी शिवाकोटीले प्रष्ट पार्दै जवाफ दिनुभएको थियो।

यस अधिवेशनको मुख्य उपलब्धिस्वरूप पालिकाका सात वटै वडाका संशोधन गरिएका बजेटहरूलाई सभामा निर्णयार्थ प्रस्तुत गरिएको थियो, जसलाई सभाले सर्वसहमतिले पारित गरेको छ।
पालिकाको विकास र जनताको आवश्यकतालाई मध्यनजर गर्दै विनियोजित बजेटमा गरिएको संशोधन र सभामा पेस गरिएका विभिन्न विधेयक, ऐन, निर्देशिका तथा कार्यविधिहरू समेत गाउँसभाले सर्वसम्मत रूपमा पारित गरेको छ।




