बाह्रदशीमा लागूऔषधविरुद्ध सचेतना अभियान, २९ विद्यालयलाई JAAN अभियानको ब्यानर हस्तान्तरण
२५ भदौ २०८३, अभिषेक धमला ।
लागूऔषध दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले झापाको बाह्रदशी गाउँपालिकामा ‘Say No To Drugs’ अभियानअन्तर्गत Jhapa Action Against Narcotics (JAAN) सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ।

बाह्रदशी गाउँपालिकाको आयोजना तथा जिल्ला प्रहरी कार्यालय झापाको सहकार्यमा आयोजित कार्यक्रममा गाउँपालिकाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरूलाई लागूऔषधविरुद्धको सचेतना अभियानसँग सम्बन्धित JAAN लेखिएको ब्यानर हस्तान्तरण गरिएको थियो।कार्यक्रममा बाह्रदशी गाउँपालिकाभित्र रहेका १६ वटा सामुदायिक र १३ वटा संस्थागत गरी २९ वटा विद्यालयका प्रधानाध्यापकहरूलाई ब्यानर हस्तान्तरण गरिएको हो।

विद्यालय तहदेखि नै विद्यार्थीहरूलाई लागूऔषधको जोखिम, यसको असर तथा दुर्व्यसनबाट जोगिन अपनाउनुपर्ने उपायबारे सचेत गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको जनाइएको छ।कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय झापाकी प्रहरी उपरीक्षक (SP) बसुन्धरा खड्काले Jhapa Action Against Narcotics (JAAN) अभियानको उद्देश्य र लागूऔषध नियन्त्रणमा समुदाय, विद्यालय, अभिभावक तथा विद्यार्थीको भूमिकाबारे जानकारी गराउनुभएको थियो।उहाँले लागूऔषधको प्रयोगले व्यक्ति, परिवार र समग्र समाजमै गम्भीर असर पार्ने भएकाले यसको नियन्त्रणका लागि प्रहरीको प्रयास मात्र पर्याप्त नहुने बताउँदै सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।

विशेषगरी किशोर–किशोरी तथा विद्यार्थीहरूलाई लागूऔषधबाट टाढा राख्न विद्यालय र परिवारको भूमिका महत्वपूर्ण रहेको उहाँको भनाइ थियो।कार्यक्रममा बाह्रदशी गाउँपालिका–४ का वडा अध्यक्ष महताव आलमले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको अध्यक्षता बाह्रदशी गाउँपालिकाको लेखा शाखा प्रमुख चुनामणि घिमिरेले गर्नुभएको थियो भने सञ्चालन राजु गिरीले गर्नुभएको थियो।लागूऔषधविरुद्धको अभियानलाई प्रभावकारी बनाउन विद्यालयहरूलाई अभियानसँग जोड्दै विद्यार्थी र समुदायमा निरन्तर सचेतना फैलाउने उद्देश्यले JAAN अभियानको ब्यानर हस्तान्तरण गरिएको आयोजकले जनाएको छ।




