जय माँ दुर्गा कीर्तन मण्डलीको १९औं साधारण सभा तथा तीज विशेष कार्यक्रम सम्पन्न
३१ साउन २०८२, राजेश आचार्य ।
झापाको बाह्रदशी गाउँपालिका स्थित जय माँ दुर्गा कीर्तन मण्डलीको १९औँ साधारण सभा तथा तीज विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता कीर्तन मण्डलीकी अध्यक्ष सरिता खड्काले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा वडा नं ५ का वडाध्यक्ष वीर बहादुर सिंह राजवंशी रहनुभएको थियो।

कीर्तन मण्डलीकी सचिव सरिता न्यौपानेले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा स्वागत मन्तव्य यशोदा उप्रेतिले राख्नुभएको थियो।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी प्रदेश कमिटीका कोषाध्यक्ष ओमप्रकाश गौतम, नवदुर्गा मन्दिर व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष कृष्ण मोहन गौतम, नवदुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर तामाङ, वडाध्यक्ष वीरबहादुर सिंह राजवंशी लगायतले शुभकामना मन्तव्य व्यक्त राख्दै मण्डलीको निरन्तर प्रगतिको कामना गर्नुभएको थियो।

१९औं स्थापना दिवसको अवसरमा कीर्तन मण्डलीको स्थापना कालदेखि तन, मन र वचनले निरन्तर योगदान पुर्याउँदै आउनु भएकी संस्थापक सदस्य दिलमाया उप्रेतिलाई खादा र प्रमाणपत्रसहित सम्मान गरिएको थियो।

कीर्तन मण्डलीकी अध्यक्ष सरिता खड्काले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सचिव सरिता न्यौपानेले वार्षिक आय–व्यय विवरण सदस्यहरू माझ स्पष्ट पार्दै हाल कोषमा जम्मा पाँच लाख रहेको कुरा जानकारी गराउनुभएको थियो।

२०६३ सालमा ८-१० घर मिलेर स्थापना गरिएको यस कीर्तन मण्डली अहिले २९ घरको सहभागितामा अझ व्यापक रूपमा सञ्चालन भईरहेको छ। किर्तन मण्डलीले समाजमा धार्मिक एवं सांस्कृतिक चेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्दै देख्न सकिन्छ।




