राजगढ बजारको व्यापारिक भवन अलपत्र, व्यापारी थप मारमा

राजगढ बजारको व्यापारिक भवन अलपत्र, व्यापारी थप मारमा

२१ भदौ २०८२, राजेश आचार्य ।

स्मार्ट सिटी भनेर घोषणा गरिएको झापाको बाह्रदशी गाउँपालिका–३ राजगढ बजारमा निर्माणाधीन व्यापारिक भवन एक वर्षदेखि अलपत्र अवस्थामा छ। भवन निर्माण ढिलो हुँदा वर्षौंदेखि व्यापार गर्दै आएका स्थानीय व्यापारी थप मारमा परेका छन्।

स्थानीय व्यापारीहरूले आफ्ना टहरा र गोदाम भत्काएर नयाँ सुविधा सम्पन्न भवन निर्माण गर्ने वाचा पाएपछि व्यावसायिक भवन बनाउन सहमति जनाएका थिए। भवन तयार भएपछि व्यापारीहरूलाई नै हस्तान्तरण गर्ने भनिए पनि अहिलेसम्म भवन निर्माण पूरा हुन सकेको छैन। यस कारण व्यापारीहरू दुवै तर्फबाट समस्यामा परेको गुनासो गर्छन्। पुरानो टहरा भत्काइयो तर नयाँ भवन पनि नबन्दा व्यवस्थित रूपमा व्यापार गर्न सक्ने अवस्था छैन।

५० लाख ५२ हजार १ सय ४ रुपैयाँ ९ पैसामा निर्माण गर्ने सम्झौता २०८० चैत ९ गते सघन सहरी तथा भवन निर्माण र अङ्कित ब्रदर कन्स्ट्रक्सन एण्ड सप्लायर्सबीच भएको थियो। सम्झौता अनुसार कम्पनीले २०८१ असार ३० गतेसम्म भवन तयार पारेर बुझाउनुपर्ने थियो। तर तोकिएको समय कटिसक्दा पनि भवन निर्माण कार्य भने पूरा भएको छैन।

अङ्कित ब्रदर कन्स्ट्रक्सन एण्ड सप्लायर्स कम्पनीले ६० प्रतिशतभन्दा बढी भुक्तानी लिएर अहिले सम्पर्कविहीन बनेको छ। यसले गर्दा राजगढ बजारमा व्यापारीहरू असुरक्षित र अन्योल अवस्थामा परेका छन्। उनीहरूले तत्काल निर्माण कार्य पूरा गरी भवन हस्तान्तरण गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

राजगढ बजार बाह्रदशी गाउँपालिकाको व्यापारिक केन्द्र मानिन्छ। यहाँका सयौं व्यापारीको दैनिकी यस्तै अलपत्र बनेको भवनसँग गाँसिएको छ। भवन समयमै निर्माण सम्पन्न नगरी छाडिएकोले स्थानीयले पालिका र ठेकदार कम्पनीप्रति आक्रोश व्यक्त गर्दै यसलाई दीर्घकालीन समस्या बन्न नदिन तत्काल कदम चाल्न आग्रह गरेका छन्।

Please follow and like us:
Pin Share

राजेश आचार्य

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares